भूकम्प र रुकुमपश्चिम, जाजरकोटका लागि एक अवसर

१७ कात्तिक २०८० यता कर्णाली प्रदेशको जाजरकोट र रुकुमपश्चिम दुख, पीडामा छन । करिब मध्यरातीमा गएको भूकम्पले मानवीय सगैं ठुलो भौतिक क्षति गराएको छ । 

 


जाजरकोट जिल्लाको राँमीडाँडा केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पबाट पश्चिम नेपालका कुल १३ जिल्लामा क्षति भएको भनिएता पनि बढी प्रभावित हुने जिल्ला भने जाजरकोट र रुकुमपश्चिम नै हुन ।

 


२०७४ सालमा रुकुम जिल्लालाई विभाजन गरेपछि रुकुमपश्चिम कर्णाली प्रदेश र रुकुम पूर्व लुम्विनी प्रदेशमा पर्न गए । जिल्ला जुन प्रदेशमा परेपनि जाजरकोट र रुकुमपश्चिम अहिले पनि पहाडी, दुर्गम र विकट क्षेत्रका रुपमा चिनिन्छन । 

 


यही जिल्लामा सिटामोल नपाएर, झाडापखालाकै कारण कतिले अकालमै ज्यान गुमाउन परेको दृष्टान्त हामी माझ ताजै छन । यहाँका गाउँ–ठाउँमा अहिले पनि गरिबी, अशिक्षा, बेरोजगारी सगैं धेरै किसिमका विकासको असुविधा छ । 

 


यसपटकको भूकम्पले झनै ठुलो असुविधाको सामना गर्नुपर्ने बाध्यता रुकुमपश्चिम र जाजरकोटका जनतालाई बनाईदिएको छ । भूकम्प लगायतका प्राकृतिक प्रकोप तथा विपद्जन्य घटनाहरुको न्यूनिकरण, सामना गर्नु बाहेक हामी माझ अर्को विकल्प पनि त छैन । तर पनि पहाडको चिसो हावा पानी, उकालो ओरालो गर्दै कडा सघर्ष र परिश्रम, मिहीनेत गरी हुर्के बढेका रुकुमपश्चिम र जाजरकोटका जनता सँग भूकम्पले दिएको दुख र पीडालाई सामना गर्न सक्ने अहम क्षमता, शक्ति छ । 

 


गुमेका आफन्त, छरछिमेकी अब फर्कर त आउने छैनन तर अन्य भौतिक सुख, सुविधा, क्षतिको पुननिर्माण भने पक्कै पनि हुनेछ । 

 


पुरानो शैली, तरिकाले निर्माण गरिएका घर, भौतिक संरचना अब आधुनिक शैलि, तरिकाले भूकम्प प्रतिरोधी बनाईनेछन । जाने गईहाले, मानवीय सगैं ठुलो भौतिक क्षति जति हुनु थियो, भईहाल्यो । कति चिन्ता लिनु, आफ्नै मनमस्तिक र शरीरलाई हानी । अब बसेका, बाँचेकाहरुले आफनो आफन्त, छरछिमेकी सगैं गाउँ–ठाउँ, समग्र जिल्लाको सपना पुरा गर्नुपर्छ । 

 


त्यो आँट र विश्वास भूकम्प प्रभावित क्षेत्रका हरेक ब्यक्ति, नागरिक, राजनीतिक नेतृत्वमा जाग्नु र जगाउनु जरुरी छ । दुख पछि नै सुख आउने हो । किनभने हरेक प्राकृतिक प्रकोप तथा विपदका घटना, महामारी अथवा देश, राष्ट्रमा भएका महत्वपूर्ण परिवर्तनका बेला प्राय दुख, पीडा नै भोग्नु परेको हामी सबैलाई थाहा भएकै कुरा हो । उदाहरणका लागि बाँकेको नरैनापुर गाउँपालिकालाई लिन सकिन्छ । 

 


कुनै दिन सुगम जिल्ला बाँकेको विकट कर्णाली भनेर पनि कतिले व्यंग्य गरेको सुनिन्थ्यो । तर कोभिड–१९ को विश्वब्यापी महामारीपछि नरैनापुरले रोकिएका सबै किसिमका विकासका कार्यलाई तिब्रता दिने मौका, अवसर पायो । रातारात विद्युत लगायतका बषौंदेखी रोकिएका विकास सम्बन्धी फाइलहरु अघि बढे । र आज सुगम क्षेत्रका रुपमा चिनिन थालेको छ । 

 


देशमा संघीयता कार्यान्वयनका क्रममा कर्णालीले दिएको बलिदानी र योगदानकै कारण सुर्खेत मुकाम सहित प्रदेशको राजधानी कायम हुन सक्यो । कोरोनाको पहिलो लहर सृजित लकडाउनका बेला सबैतिर जनजीवन ठप्प हुँदा नेपालगंज स्थित भेरी अस्पतालमा भने लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका बिरामीहरूको चाप उच्च थियो । 

 


मानिसहरूसँग खाना खाने विकल्पका साथै आर्थिक अभाव पनि थियो । त्यहीबेला नेपालगन्जस्थित गौशालाको सहायक संस्था सुन्दरकाण्ड मित्र मण्डलीका २६ सदस्यीयहरू, बाँकेका तत्कालिन प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ, भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डाक्टर प्रकाश थापा लगायतका बिच अस्पतालमा आउने बिरामी र बिरामीका आफन्तलाई लक्षित गरी सुलभ रुपमा गुणस्तरीय खाना खुवाउने विषयमा छलफल भयो । आ–आफ्नो तर्फबाट सकेको सहयोग उठाउने र त्यसैबाट रसोई सन्चालन गर्ने निणर्य भयो । उक्त सल्लाह नेपालगन्ज उप–महानगरपालिकाका तत्कालिन नगरप्रमुख डाक्टर धवलशमशेर राणासँग पनि साझा गरियो । नगरप्रमुख राणाले हौसला थप्दै उप–महानगरपालिकाबाट मासिक ५० हजार रूपैयाँ उपलब्ध गराउने वाचा गर्नुभयो । 

 


भेरी अस्पतालले ठाउँ उपलब्ध गरायो र सुरु भयो अंजनी माता रसोई । जहाँ २० रुपैयाँमा नै भर पेट शुद्धशाकाहरी खानाको व्यवस्था गरियो । रसोई सन्चालन भएपछि अस्पतालमा आएका बिरामी र बिरामीका आफन्त मात्रै नभई अप्ठ्यारोमा परेका सबै नागरिकले समेत ठूलो राहत महसुस गरे । र अहिले उपचारका लागि रुकुमपश्चिम र जाजरकोटबाट आएका भूकम्प पीडित घाइतेले पनि यहीबाट खानाको सुविधा पाईरहेका छन । हो, साँच्ची नै यसबेला जाजरकोट र रुकुमपश्चिमले पनि यस्तै गरी काम गर्ने ठुलो अवसर पाएका छन । मात्र तिब्र इच्छा शक्ति र अगुवाई गर्ने ब्यक्ति, संस्थाहरुको खाँचो छ । 

 


यो अवसर दिलाउनका लागि १५३ जनाले भूकम्पमा ज्यान गुमाएका छन । २६४ जना भन्दा बढी घाईते भएका विवरणहरु आएका छन । यो सङ्ख्या अझै बढ्न सक्ने देखिन्छ । भौतिक क्षतिको यकिन मूल्याङकलन अझै भईरहेको छ । त्यसकारण पनि अब रुकुमपश्चिम र जाजरकोटका जनताले दुख, पीडालाई शक्तिमा बदल्नुपर्छ । सिंगो देश मात्र नभई, हाम्रा दुई छिमेकी मुलुक भारत, चीन सगैं मित्र राष्ट्र अमेरिका सहितका विभिन्न देशको ध्यान रुकुमपश्चिम र जाजरकोटमा केन्द्रित भएको छ । सरकारी तथा गैरसरकारी निकायको ध्यान पनि त्यही परेको छ छ । 

 


भूकम्प प्रभावित क्षेत्रका आमनागरिकहरुले यो कुरा बुझ्न जरुरी छ, की त्रिपाल, टेन्ट, कम्बल, कपडा, चामल, दाल, तेल, नुन, चाउचाउ, विस्कुट, चिउरा तत्कालिन आवाश्यकता मात्र होइन । अब सुरक्षित स्थानमा बलियो सरिया, सिमेन्ट, ढुङ्गा, ईट्टा, जस्तापाता (टिन) लगायतका गुणस्तरिय सामाग्री जडित घर, विद्यालय, अस्पताल, सरकारी कार्यालय आवाश्यक छ, भन्ने कुरा । 

 


बिरामी बोकेर सुर्खेत, नेपालगंज, काठमाडौं होइन अब रुकुमपश्चिम र जाजरकोटमै तत्काल विशेषज्ञ चिकित्सक सहितका जनशक्तिबाट स्वास्थ्य, उपचार सेवा, सडकको स्तरउन्नती र विकास, भूकम्प, प्राकृतिक प्रकोप तथा विपदजन्य घटनाका सवालमा समुदाय स्तरमा सचेतनाका कार्यक्रम तत्काल शुरु गर्न जोडतोडका साथ आवाज उठाउन अति जरुरी छ । र स्थानीय, प्रदेश र संघीय सरकारले नीतिगत रुपमा नै कार्ययोजना अघि बढाउन ढिला गर्नुहुन्न ।

 


प्रभावित क्षेत्रका जनतालाई लक्षित गरी उपलब्ध गराउन थालिएका राहतका गतिविधिहरु सिमित क्षेत्रमा अलि बढी केन्द्रित भए । मनकारी, सहयोगी दाताहरु सम्बन्धीत ठाउँमै पुगी रहनु आवाश्यक छैन । भूकम्प प्रभावित क्षेत्रका स्थानीय प्रशासनले सञ्चालन गरेका भूकम्प प्रभावित राहत कोष, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने वा समन्वय गरिदिए मात्रै पनि धेरै सहज र उचित हुने देखिन्छ । 

 


सबैको पहुँच सम्म पु¥याउन प्रभावित क्षेत्रका स्थानीय प्रशासनले थप कडाई र अनुगमन, निरिक्षण गर्नुपर्छ । साथै बढ्दो प्रविधिको प्रयोग र सामाजिक सञ्जाललाई अब खोज, उद्धार, राहत संकलन, वितरणमा मात्र नभई रुकुमपश्चिम, जाजरकोटको दिर्घकालिन विकास, पुननिर्माणको बहसमा केन्द्रित गराउन सके मात्रै पनि १७ कात्तिक २०८० को भूकम्प रुकुमपश्चिम, जाजरकोटका लागि एउटा अवसर बन्ने निश्चित छ । 


२३ कात्तिक २०८० ।
 

प्रतिकृया दिनुहोस
SITENAME

बर्खे धान खेती विशेष

  झरना उपाध्याय प्राविधिक अधिकृत, बीउ उत्पादन, बाली प्रजनन, कृषि अनुसन्धान निर्देशनालय, लुम्विनी प्रदेश, खजुरा, बाँके ।   धान नेपालीहरुको

SITENAME

अन्तर्वार्ता : नारायण डाँगी, डिएसपी

बाँकेमा स्थानीय प्रहरी प्रशासन समक्ष केही महिना यता डाँका चोरी, लुटपाट, हत्या, कुटपिट लगायतका घटना दर्ता हुने क्रम बढेको छ । आम सर्वसाधारणले आफनो

SITENAME

पासपोर्ट बनाउन चाहिने कागजपत्र हेर्नुहोस । PDF फाइलसहित

संवाददाता २० चैत २०८० ।   विद्युतीय राहदानी (e–Passport) सम्बन्धी जानकारीमूलक पुस्तिका २०७९ हेर्न यो लिंक खोल्नुहोस । e–Passport