AGRICULTURAL

बर्खे धान खेती विशेष

PHOTO : कृषि अनुसन्धान निर्देशनालय, खजुरा बाँके, लुम्विनी प्रदेश । ।

 

  • झरना उपाध्याय प्राविधिक अधिकृत, बीउ उत्पादन, बाली प्रजनन, कृषि अनुसन्धान निर्देशनालय, लुम्विनी प्रदेश, खजुरा, बाँके ।

 

धान नेपालीहरुको प्रमुख खाद्य बाली हो । असारको पहिलो सातादेखी नै धान रोपाईं शुरु हुने हुनाले जेठ महिनाको १०–१५ गते देखी नै किसानहरु धानको ब्याड राख्ने तयारी गरिरहेका छन । मानो रोपेर मुरी फलाउने किसानहरुलाई यतिबेला धानको बीउ राख्ने चटारो छ ।

 


गुणस्तरिय धानको बीउ, उचित जातको छनौट गर्न नजान्दा र बीउ छिप्पाएर रोप्दा उत्पादनमा कमी आउने र किसानको मेहनतले उचित स्थान नपाउने हुन्छ । नेपाल कृषि अनुसन्धान परिषदले सुख्खा सेचित जात (उन्मोचित–७५, दर्ता–८, आयातित दर्ता–१२) र वर्णशंकर जात (उन्मोचित – २), आयातित दर्ता – ५४ ) गरी जम्मा १५० धानका जातहरु विकास गरिसकेको छ । 

 


उच्च गुणस्तरको बीउ प्रयोग गर्नाले स्वस्थ र बलियो बेर्ना उत्पादन गर्न सकिन्छ । जसले गर्दा बालीको उत्पादन बढाउन मद्दत पुग्छ । आधिकारिक स्रोतबाट प्रमाणित भएको बीउ मात्र किन्नुपर्छ वा आफैले उत्पादन गरेको बीउ पनि प्रयोग गर्न सकिन्छ । तर जातीय साथसाथै भौतिक शुद्धता भएको बीउ मात्र प्रयोग गर्नुपर्छ । झारपातको बीउ, माटो, ढुङ्गा, अन्य जातहरु नमिसिएको, रोग किरा नलागेको र उमारशक्ति ८० प्रतिशत भन्दा बढी भएको बीउ हुनुपर्छ, घरमा आफैंले पनि धानको उपलब्ध बीउ निम्न लिखित विधिबाट छनौट गर्न सकिन्छ । 

 

 

नुन पानी द्धारा धानको बीउ छनौट गर्ने प्रक्रिया । 


१. एउटा बाल्टिनमा १० लिटर सफा पानी राखेर करिब १ किलो खाने नुन राख्नुपर्दछ ।
२. पानी राखेको बाल्टिनमा कुखुराको अण्डा राखी नुन घोल्दै जानुपर्दछ ।
३. अण्डाको आधा भाग पानी भित्र र आधा भाग पानी बाहिर देखिएपछि नुन थप्न बन्द गर्नुपर्दछ ।
४. यो अवस्थामा पानीको घनत्व १.१४ हुन्छ ।
५. अब पानीमा धानको बीउहरु खन्याउनु पर्दछ । यसरी बल्टिनको पानीमा तैरिएका बीउहरुलाई हटाउनुपर्छ । तैरिएका बीउहरु प्राय खखरी, रोग लागेका नपाकेका वा किरा लागेका हुन्छन ।
६. बाल्टिनको तल्लो भागमा भएका बीउहरुलाई निकाल्ने र २–३ पटक सम्म पानीले पखाल्ने गर्नुपर्दछ ।
७. बीउलाई सफा पानीले पखालेर छायाँमा सुकाउनु पर्दछ ।
८. सुकिसकेको गुणस्तरिय बीउलाई धान खेती गर्न प्रयोग गर्नुपर्दछ ।


(स्रोत– नेपाल सरकार, नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम, हर्दिनाथ बनियाँ, धनुषा)

 

लगाउने क्षेत्र, माटोको प्रकार, किसानको आवाश्यकता र पानीको श्रोतको उपलब्धताको आधारमा आफनो जग्गामा सुहाउँदो उन्नत वा हाइब्रिड जात लगाउन सकिन्छ ।
धानपछिको दोस्रो बाली समयमा नै लगाउने र राम्रो उत्पादन लिन छिटो पाक्ने जात (राधा–४, हर्दिनाथ – १, सुख्खा धान – ३, सुख्खा धान – ६ , हर्दिनाथ – ५ र अन्य छिटो पाक्ने हाइब्रिड जातहरु लगाउन सकिन्छ ।

 


मंसिरको अन्तिमसम्म पनि चिसो रहने जग्गा भए ढिलो पाक्ने र बढी उत्पादन दिने जात रामधान, सावित्री, हर्दिनाथ ६, सावा मन्सुली सब –  १, स्वर्ण सव – १ (डुवान सहने) लगाउन सकिन्छ । मध्य पाहाडको लागि उपयुक्त जातहरु खुमल–४, खुमल – ८, खुमल – १०, खुमल – ११ आदी लगाउन सकिन्छ ।


 

बीउ राख्ने विधि :

राम्रो सँग तयार गरिएको र उचित व्यवस्थापन गरिएको नर्सरी ब्याडबाट मात्र गुणस्तरिय र स्वस्थ बेर्नाहरु उत्पादन गर्न सकिन्छ । धानको बीउ राख्ने विभिन्न विधिहरु मध्ये नेपालमा हिले बीउ र धुले बीउ नै बढी प्रचलित छ ।

 


क) हिलो ब्याड :

प्रशस्त सिंचाईंको सुविधा भएको ठाउँमा हिले ब्याड उयुक्त हुन्छ । एक विगाह जग्गामा धान रोपाईंको लागि आवाश्यक स्वस्थ र गुणस्तरिय बेर्ना उत्पादन गर्न १.५ देखी २ कठ्ठा क्षेत्रफलको ब्याड पर्याप्त हुन्छ । सरदर १ हेक्टर (३० कठ्ठा) धान खेतको लागि १ हजार वर्ग मिटर (३ कठ्ठा) क्षेत्रफलको ब्याड पर्याप्त हुन्छ ।

 


हिले ब्याड राख्ने जमिन दुई पटक सम्म जोतेर सम्याउनुपर्छ । र ब्याड राख्नुभन्दा कम्तीमा १५ दिन अघि १.५ देखी २ क्विनटल १ कठ्ठाको दरले राम्रो सँग पाकेको गोबर मल वा कम्पोष्ट मल हालेर जोतेर माटोमा मिसाउनुपर्छ ।

 


वीउ छर्नु अगाडी माटोलाई पर्याप्त सिंचाई गरी २–४ पटक सम्म राम्रो सँग हिल्याएर खानजोत गरेको जमिनलाई १–२ दिनपछि १–१.५ मिटरको चौडाईं र ८–१० मिटरको लम्बाईंमा  विभाजन गरेर वीउ छर्नु पर्दछ । ब्याडमा उपयुक्त चौडाईले ब्याडमा अनावश्यक झारपात हटाउन र नजिकैबाट ब्याडको अनुगमन गर्न सहज हुन्छ ।
हिले बिउ राख्नु पूर्व बीउलाई २४ घण्टा भिजाउनु पर्छ । र ३६ देखी ४८ घण्टा अंकुरित भएपछि बीउलाई ब्याडमा छर्न उपयुक्त हुन्छ ।

 


बीउ राखिसकेपछि ५ दिनसम्म ब्याडलाई लगातार ५ सेन्टिमिटरको उचाईं सम्म हुने गरी भिजाउनुपर्छ । बढी पानी परेको खण्डमा आवाश्यकता अनुसार पानीको सतह घटाउन सकिन्छ ।

 

 

धुले ब्याड :

सिंचाईको प्रशस्त सुविधा नहुने स्थानमा धुले ब्याड राख्न उपयुक्त हुन्छ, साथै पानी जम्ने समस्याबाट छुटकारा पाउन पनि धुले ब्याडको प्रयोग गरिन्छ । बीउ राख्ने नर्सरीको जमिनलाई १.२५ मिटर चौडाई र ८–१० मिटर लम्बाई हुने गरी बाँड्नु पर्छ । लम्बाई आवाश्यकता अनुसार बढाउन पनि सकिन्छ । सरदर १ हेक्टर (३० कठ्ठा) धान खेतको लागि १ हजार वर्ग मिटर (३ कठ्ठा) क्षेत्रफलको ब्याड पर्याप्त हुन्छ ।

 


ब्याड तयार गर्दा राम्ररी कुहिएको मलको साथमा २१ किलो युरिया मल प्रति रोपनीको दरले हाल्न सकिन्छ । ब्याडमा बेर्नाहरु पँहेलीएको अथवा जिङ्कको कमी देखिएमा आवाश्यकता अनुसार युरिया र जिङ्क मल स्प्रे गर्नुपर्छ ।

 

 

मलखाद ब्यवस्थापन :

मल खादको सन्तुलित प्रयोगले मलको प्रभावकारिता बढाईं राम्रो उत्पादन दिन्छ । त्यसैले बालीको अवस्था र आवाश्यता अनुसार उचित मात्रा र उचित मात्रामा मलखादको प्रयोग गर्नुपर्छ, जसले माटोको उर्वराशक्ति कायम राखी बालीको उत्पादन बढाउन सहयोग पुर्याउँदछ । 

 


नेपाल सरकार, नेपाल कृषि अनुसन्धान परिषद, राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान, राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले देशैभरीबाट संकलन र विश्लेषण गरेको माटोको नमुनाको परिणामको आधारमा विभिन्न भौगोलिक क्षेत्रको लागि फरक–फरक मलखादको मात्रा सिफारिस गरेको छ । 

(नोट : ना. नाईट्रोजन, फा. फोस्फोरस, पो. पोटास, उपलब्धता अनुसार प्रांगारिक मल बढी राखेमा राम्रो हुने, धानबालीको लागि सिफारिस गरिएको मलखादको मात्रा)

 

 

क) रासायनिक मलको प्रयोग गर्दा डि.ए.पी, फस्फोरस मलको दुबै मात्रा र पोटास मलको ५० प्रतिशत रोप्ने बेलामा प्रयोग गर्नुपर्छ । त्यस्तै २५ प्रतिशत युरिया बाली लगाएको १४–१८ दिनपछि ३५ प्रतिशत युरिया बाली लगाएको ३५–४० दिनपछि र ४० प्रतिशत युरिया, ५० प्रतिशत पोटास बाला निस्कने बेलामा छर्नुपर्छ ।


ख) मलखाद टपड्रेसिङ्ग गर्ने बेलामा खेतमा छिपछिपे पानी वा उपयुक्त मात्रामा चिस्यान हुनुपर्दछ । 


ग) खैरा रोगको समस्या हुने क्षेत्रमा बाली रोप्ने समयमा २५ किलो प्रतिहेक्टरका दरले जिङ्क सल्फेट प्रयोग गर्नुपर्छ ।


घ) बीउलाई ढुसीजन्य रोगबाट नियन्त्रण गर्न बीउ छर्नुभन्दा १ हप्ता पहिले उपचार गर्नुपर्दछ । ढुसी नाशक विषादी बेभिष्टिन धुलो वा थिराम प्रतिकिलो दुई ग्राम सुख्खा बीउमा मिसाएर उपचार गर्न सकिन्छ । ढुसीजन्य रोग बढी लाग्ने क्षेत्रमा हिले ब्याड र ब्याक्टेरियाबाट बेर्ना बचाउन धुलो ब्याड उपयुक्त हुन्छ ।


ङ) धानको बेर्नामा रोग र किराहरुको प्रकोपको नियमित अनुगमन गर्नुपर्दछ, र किराहरुबाट बेर्नालाई सुरक्षित राख्न २ पटक सम्म सिफारिस गरे अनुसारका विषादी छर्न सकिन्छ । ब्याडमा पानीको स्तर कायम राख्न र ब्याडमा झारपात आउन नदिनका लागि बेला–बेलामा हेरविचार गरी नियमित झारपात हटाउनु पर्दछ ।

 


रोपाईं गर्न जमिनको तयारी :

राम्रो सँग खनजोत गरेको जमिनमा झारपातको प्रकोप कम हुनुको साथैं, मल तथा पानी पनि प्रभावकारी ढङ्गले प्रयोग गर्न सकिन्छ । यदी खेत हिल्याएर रोप्ने भएमा हिलो भएको जग्गामा एक पटक हयारो वा कल्टिभेटरले जोतेर पाटा लगाउन उपयुक्त हुन्छ । जोत्ने क्रममा अघिल्लो बालीहरुको अवशेष जस्तै नल, पराल, झारपात र हरियो मल आदी छ भने हप्तादिन अघि नै राम्रो सँग जोतेर माटोमा कुहिन दिनुपर्दछ ।

 


बाली लगाउने तरिका :

छोटो तथा मध्यम पाक्ने अवधि भएका जातका बेर्ना २०–२२ दिन र ढिलो पाक्ने जातका बेर्ना सकेसम्म ३० दिन भित्रै रोप्ने । डुवानको समस्या भएको ठाउँमा ३०–४० दिनसम्मको बेला प्रयोग गर्न सकिन्छ । उपयुक्त र कलिला बेर्नाहरुलाई लाइनमा दुरी मिलाएर लगाउनाले मलजल र गोड्मेल गर्न समेत सहज हुन्छ । एक लाइन देखी अर्को लाइनको दुरी २० सेन्टिमिटर र बोटबाट बोटको दुरी १५ देखी २० सेन्टिमिटर मिलाएर रोप्नुपर्छ । बेर्नालाई उखेल्दा जरा नचुँडाई उखेल्नुपर्छ । त्यसको लागि अघिल्लो दिन नै नर्सरीमा उपयुक्त चिस्यानको व्यवस्था गर्नुपर्छ । प्रत्येक गाँजमा २–३ वटा वेर्ना, २–३ सेन्टिमिटर गहिराईंमा रोप्नुपर्छ ।

 

 

झारपात नियन्त्रण :

धानको विरुवाहरु र झारहरु बीच सुर्यको प्रकाश मल, पानी पाउनको लागि प्रतिस्पर्धा हुने हुँदा बालीको उत्पादन घटाउँछ । जग्गा तयार गर्दा राम्रो सँग सम्याउने, एक हप्ता हिलो फुहाउने र रोप्ने बेलामा झारपात विहिन बनाउने । हातले वा यान्त्रिक विधिबाट झार नियन्त्रण गर्दा बेर्ना सारेको १५ र ३० दिनमा झारपात निकाल्नु पर्दछ ।

 


यदी झारनाशक विषादीको प्रयोग गर्ने हो भने झारपात उम्रनु अगाडी हाल्ने झारनाशक विषादी ब्युटाक्लोर वा पिटिलाक्लोर २.५ मिलिलिटर एक लिटर पानीमा मिसाईं बेर्ना सारेको २–३ दिनपछि पानी जमेकै अवस्थामा छर्ने वा उम्रिएपछि प्रयोग गर्ने झारनाशक रसायनहरु नोमिनीगोल्ड ०.५ मिलीलिटर प्रति लिटर पानीमा मिसाई एक कठ्ठामा २० लिटरको घोल छर्ने र चौडापाते झार मात्र भएमा २–४ डि ईथाएल ईस्टर १ मिलीलिटर प्रति लिटर पानीमा मिसाई प्रयोग गर्ने । झार उम्रिसकेपछि हालिने झारनाशाक विषादीको प्रयोग गर्दा माटोमा प्रशस्त चिस्यान हुनुपर्दछ । यदी पानी परिरहेको वा ६ घण्टा भित्र पानी पर्ने सम्भावना छ भने झारनाशक विषादी छर्नहुदैन । विषादी छर्दा सुरक्षात्मक सतर्कता अपनाउनु पर्दछ ।

 

 

सिंचाई व्यवस्थापन :

सिंचाईको उचित व्यवस्थापनले धानको गुणस्तर सगैं उत्पादन पनि बढाउन सकिन्छ । धान जलीय विरुवा होइन, त्यसैले धान रोपेदेखी पसाउने बेला सम्म माटोमा चिस्यान व्यवस्थापन गर्नुपर्छ तर सधै पानी पानी जमाई रहने गर्नु पर्दैन ।

 


धानको गाँज आउने अवस्थामा २–३ पटक सम्म माटो हल्का फुट्ने गरी पानी सुकाउनुपर्छ । धान रोपेपछि केही समय पानी सुकाउने र केही समय डुवाउने गर्दा पानीमा हुने र सुख्खामा हुने दुबै किसिमका फाइदाजनक सुक्ष्म जीवका क्रियाकलाप बढ्छ । जसले गर्दा बालिको उत्पादन बढ्छ ।

 


धानमा गाँज आउने बेला, बाला बन्ने बेला, फूल फल्ने बेला र दानामा दुध पस्ने बेला (दाना भरिने बेला) खेतमा पर्याप्त चिस्यान नभएमा धान उत्पादनमा ह्रास आउँछ । तसर्थ धान पसाउने बेलामा भने खेतमा हल्का पानी जमाउनु राम्रो हुन्छ ।

 

 

बाली काट्ने तथा थन्काउने :

उपयुक्त समयमा बाली काटेर थन्काउनाले उत्पादनका साथै गुणस्तरिय बाली भित्राउन सकिन्छ । धेरै छिटो बाली कटान गर्दा किराको प्रकोप बढ्ने र धेरै ढिलो गरी कटान गर्दा खेतमा नै दाँना नोक्सान हुन्छ ।

 


८०–८५ प्रतिशत दाना पँहेलिन थालेपछि कटाई गर्नुपर्छ । कटाई गर्दा दानामा २०–२५ प्रतिशत भन्दा बढी चिस्यान हुन हुदैन । धानलाई २–३ घाम राम्रो सँग सुकाएपछि, सुख्खा र सफा ठाउँमा, हावा नपस्ने भाँडामा भण्डारण गर्नुपर्दछ । खानाको लागि १४ प्रतिशत भन्दा कम चिस्यान र बीउ प्रयोजनको लागि १२ प्रतिशत भन्दा कम चिस्यान कायम हुनेगरी भण्डार गर्न उपयुक्त हुन्छ । 

 

 

प्रेम विश्वकर्माले अनुवाद गर्नुभएको । २७ जेठ २०८१ ।
 

प्रतिकृया दिनुहोस
SITENAME

अन्तर्वार्ता : नारायण डाँगी, डिएसपी

बाँकेमा स्थानीय प्रहरी प्रशासन समक्ष केही महिना यता डाँका चोरी, लुटपाट, हत्या, कुटपिट लगायतका घटना दर्ता हुने क्रम बढेको छ । आम सर्वसाधारणले आफनो

SITENAME

पासपोर्ट बनाउन चाहिने कागजपत्र हेर्नुहोस । PDF फाइलसहित

संवाददाता २० चैत २०८० ।   विद्युतीय राहदानी (e–Passport) सम्बन्धी जानकारीमूलक पुस्तिका २०७९ हेर्न यो लिंक खोल्नुहोस । e–Passport

SITENAME

जीउ बक्सिस माग्दा पनि डाँकाले दिएनन 

प्रेम विश्वकर्मा, बाँके  ०८ चैत २०८० ।   ‘घटना स्थलमा पुगेपछि प्रहरीले सोधपुछ गर्न थाल्यो, सोधपुछ गर्नुभन्दा पनि ढिला आउनुभएको छ । मेरो सरको